रौतहट कार्तिक ५ । रौतहटको गौर नगरपालिकामा करेन्ट लागेर एक पूर्व वडाध्यक्षको मृत्यु भएको छ। बुधबार गौर–५ का पूर्व वडाध्यक्ष तथा नेकपा एमालेका जिल्ला कमिटी सदस्य राम स्वार्थराय यादवको करेन्ट लागेर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यादव आफ्नै बाख्राफार्ममा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाने प्रयास गरिए पनि बाटोमै निधन भएको प्रहरीले जनाएको छ। मृतक यादव सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्थे। नेकपा एमालेमा लामो समयदेखि आवद्ध रहँदै आएका उनी गौर क्षेत्रका सामाजिक काममा पनि सक्रिय थिए। हाल उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ।
उक्त दुर्घटनाले स्थानीय बासिन्दा र एमाले कार्यकर्तामा शोकको माहोल छाएको छ।






