एजेन्सी असोज २५ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शनिबार बिहान भएको सानो विमान दुर्घटनामा विमानमा सवार तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनापछि विमानमा आगलागीसमेत भएको थियो।
सिड्नीबाट करिब ८५ किलोमिटर दक्षिणमा रहेको सेलहार्बर विमानस्थलबाट स्थानीय समयअनुसार बिहान १० बजे उडान भरेको विमान केही समयमै दुर्घटनाग्रस्त भएको हो। भुइँमा ठोक्किएपछि विमानमा आगलागी भएको र न्यू साउथ वेल्स फायर एन्ड रेस्क्यु टोलीले आगो नियन्त्रणमा ल्याएको प्रहरीको भनाइ छ। “दुर्घटनामा सवार तीन जना यात्रुको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ,” प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अष्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन ABC ले सार्वजनिक गरेका तस्बिरहरूमा रनवेमा पूर्ण रूपमा जलेर नष्ट भएको विमानको अवशेष देखिएको छ। घटनास्थललाई अहिले ‘अपराधस्थल’ को रूपमा तोकिएको छ र अष्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्यूरो ATSB लाई दुर्घटनाबारे जानकारी दिइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि सुरक्षासम्बन्धी अनुसन्धान सुरु भइसकेको छ।





