काठमाडौँ असोज २५ । काठमाडौँको सामाखुसी चोक शनिबार अपराह्न राजावादी प्रदर्शनले केही समयका लागि तातिएको छ। प्रशासनको निषेधाज्ञा अवज्ञा गर्दै राजसंस्थाको समर्थनमा उत्रिएका प्रदर्शनकारीहरूले नाराबाजी गरेका हुन्।
उनीहरूले यसअघि सामाखुसीमा भेला भई नारायणहिटी दरबारतर्फ र्याली लैजाने योजना बनाएका थिए। तर काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै कुनै पनि किसिमका आन्दोलन वा र्याली गर्न नपाउने सूचना जारी गरेपछि उनीहरूले सामाखुसीमै सीमित भई प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूको उपस्थिति केही समय सडकमा बाक्लो देखिए पनि ठूलो अवरोध भने देखिएन। सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो।






