काठमाडौँ असोज २५ । हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइ हुनेमा नेपाल सरकार आशावादी देखिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्म प्राप्त संकेतहरू सकारात्मक भएको जनाउँदै जोशी चाँडै मुक्त हुनेमा विश्वस्त रहेको बताएका छन्। “ढिलै भए पनि विपिन जोशीको कब्जामा परेको प्रमाण स्वरूप सुरुको भिडियो सार्वजनिक भइसकेको छ, उनी मृतकहरूको सूचीमा छैनन्, र इजरायलले समेत उनी जीवितै रहेको बताउँदै आएको छ,” क्षेत्रीले बताएका छन्। “यी सबै कुराले हामीलाई जोशीको रिहाइबारे आशावादी बनाएको हो,” उनले थपे।
निरन्तर सम्पर्क र समन्वय
इजरायलस्थित नेपाली दूतावाससँग परराष्ट्र मन्त्रालयले नियमित सम्पर्कमा रहेको जानकारी दिँदै क्षेत्रीले सरकारको प्राथमिकता विपिन जोशी लगायत बन्धक बनाइएका सबै नेपालीको सकुशल उद्धार रहेको बताए।
शान्ति सम्झौताप्रति स्वागत
नेपालले हालै इजरायल र हमासबीच भएको अस्थायी शान्ति सम्झौताप्रति आधिकारिक प्रतिक्रिया दिँदै त्यसको स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बहुप्रतिक्षित यो सम्झौता सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेका संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीप्रति नेपाल आभार व्यक्त गर्छ।”
मानवीय सहायता र बन्धकको रिहाइको आग्रह
नेपालले गाजाका नागरिकहरूप्रति मानवीय सहयोग सहज रूपमा पुग्नुपर्ने कुरामा जोड दिँदै, शान्ति सम्झौताको प्रभावकारी कार्यान्वयन र दीर्घकालीन शान्तिको वातावरण निर्माणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।मन्त्रालयले विपिन जोशीसहित हमासको नियन्त्रणमा रहेका सबै बन्धकको तत्काल रिहाइको पनि आह्वान गरेको छ।





