बारामा माटोको ढिस्कोले पुरिँदा दुईको मृत्यु, ६ घाइते

बारा असोज २५ । बाराको सिम्रौनगढ नगरपालिका–६ मा माटोको ढिस्कोले पुरिँदा दुइ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार शनिबार बिहान करिब ८:५० बजे सानो इटवाल क्षेत्रको इशरा पोखरी नजिक माटो खन्ने क्रममा ढिस्को खस्दा दुर्घटना भएको हो। स्थानीयहरू छठ पर्वको तयारी स्वरूप घर लिपपोत गर्न माटो खन्दै थिए। घटनापछि इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल सिम्रौनगढबाट २१ जना सुरक्षाकर्मीको टोली परिचालन गरी उद्धार कार्य चलाइएको थियो।

मृत्यु हुनेमा सिम्रौनगढ–६ सानो इटवाल निवासी ७० वर्षीया शारदा देवी महतो र सिम्रौनगढ–५ का १५ वर्षीय सुनिल महतो रहेका छन्। शारदा देवीलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। सुनिल महतोको भने कलैया मेट्रो अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बारा का प्रवक्ता डीएसपी विजय राज पण्डितले जानकारी दिए। घाइते हुनेहरूमा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीय रानी कुमारी महतो, १४ वर्षीय सुशीला कुमारी महतो र १५ वर्षीय राजा बाबु शर्मा रहेका छन्। उनीहरूको सिम्रौनगढ कंकाली अस्पताल, धर्मनगर अस्पताल र कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार सिम्रौनगढ नगरपालिकाको नयाँ कार्यालय भवनको दक्षिणतर्फ छठ पर्वको लागि आवश्यक माटो संकलन गर्ने क्रममा अचानक ढिस्को खसेको थियो। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर