गोली चलाउने आदेश मैले र ओलीले दिएको होइन: रमेश लेखक

काठमाडौँ असोज २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा बल प्रयोगका लागि कुनै आदेश नदिएको स्पष्ट पारेका छन्। शुक्रबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आन्दोलनका क्रममा गोली चलाउने निर्देशन आफू वा प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको भनी फैलिएको चर्चा तथ्यविहीन भएको दाबी गरे।

आन्दोलन दमन गर्न गोली चलाउने आदेश न गृहमन्त्रीको हैसियतले मैले दिएँ, न प्रधानमन्त्रीबाट यस्तो निर्देशन आएको हो, लेखकले भने, यस्ता अफवाहहरू तथ्यमा आधारित छैनन्। उनले आन्दोलनमा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै त्यसमा केही समूहहरू घुसपैठ भएकोले अवस्था बिग्रिएको बताए। जेनजी पुस्ताका मागहरू गम्भीर छन्, तिनलाई लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सम्बोधन गर्नु आवश्यक छ, लेखकको भनाइ थियो।

आन्दोलनका विषयमा सरकारले गठन गरेको छानबिन आयोगप्रति आफू पूर्ण विश्वास राखेको भन्दै उनले संविधान र कानुनको दायरामा रही आयोगले निष्पक्ष छानबिन गर्ने अपेक्षा व्यक्त गरे। उक्त आन्दोलनलाई लिएर एक महिनापछि लेखकको यो पहिलो सार्वजनिक अभिव्यक्ति हो। उनले सबै राजनीतिक दलहरूलाई उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट माथि उठेर विधिको शासनलाई सम्मान गर्दै जिम्मेवार ढंगले अघि बढ्न आह्वान समेत गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ