बारा असोज २४ । बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव अविरल वर्षापछि दुधौरा खोलाको पुल नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। असोज १९ गते बिहान ८:३० बजे टिकटक भिडियो बनाउन दुधौरा खोलाको पुलबाट हाम फालेका गोसाइँ ६ दिनसम्म बेपत्ता थिए।
उनको शव गण्डक जाने बङ्गरी पुल नजिक भेटिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय प्रहरीले मोटरबोट र गोताखोरको सहयोगमा खोजतलास अभियान चलाएको थियो। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख टुपेन्द्र श्रेष्ठका अनुसार, नेपाली सेनाका लफ्टन नीरज राईको नेतृत्वमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजङ्ग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको नेतृत्वमा १० जना गरी ४३ जनाको टोली खोजीमा खटिएको थियो।
सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका–२ चिलझपटीसम्म एक किलोमिटर क्षेत्रफलमा तीव्र खोजी गरिएको थियो। गोताखोर र खोजी टोलीले खोलाको विभिन्न पुलहरू तथा नहर वरिपरि खोजी गरेको थियो तर ६ दिनपछि मात्र शव फेला परेको थियो।





