जनमत पार्टीद्वारा आफ्नै सामाजिक सञ्जाल नियमन गर्ने निर्णय

जनकपुरधाम असोज २४ । सामाजिक सञ्जालमार्फत पार्टीभित्र बढ्दो विवाद र भाँडभैलो नियन्त्रण गर्न जनमत पार्टीले अब आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरूमा निगरानी र अनुशासन लागू गर्ने निर्णय गरेको छ।

पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीका अनुसार, पार्टी तथा त्यसका विभिन्न समितिहरूबाट सञ्चालनमा आएका फेसबुक, भाइबर, ह्वाट्सएप, म्यासेन्जर जस्ता अनलाइन ग्रुपहरूमा अनधिकृत गतिविधि बढ्न थालेपछि यस्तो निर्णय गरिएको हो।

 अब सामाजिक सञ्जाल एकीकृत संरचनामा

पार्टीले स्पष्ट रूपमा निर्दिष्ट गरेको छ कि अबदेखि पार्टी, भातृ संगठन, पेसागत संगठन वा शुभचिन्तक समूहहरूको नाम केवल आधिकारिक रूपमा मान्यता प्राप्त पेज वा ग्रुपहरूमा मात्र प्रयोग गर्न पाइनेछ। “यदि कुनै पेज वा ग्रुपले सम्बद्ध समिति वा नेतृत्वबाट आधिकारिक मान्यता पाएको छैन भने त्यसमा जनमत पार्टीको नाम वा आवद्धता देखाएर सञ्चालन गर्न पाइँदैन,” उपाध्यक्ष चौधरीले चेतावनी दिए।

स्थानीय तहअनुसार अधिकार र निगरानी

पार्टीले निर्देशन दिएको छ कि सम्बन्धित ग्रुप वा पेज त्यही तह — वडा, पालिका, जिल्ला वा क्षेत्र — को समितिको प्रत्यक्ष मातहतमा सञ्चालन हुनुपर्नेछ। साथै, ती ग्रुप वा पेजहरूमा त्यस क्षेत्रभित्रका सदस्यहरू मात्र जोडिनुपर्ने नियम पनि लागू गरिएको छ।

केन्द्रीय सचिवालय बनाइने ‘एडमिन’

पार्टीले केन्द्रीय सचिवालयलाई सबै पेज तथा ग्रुपमा एडमिन बनाउने निर्देशन पनि जारी गरेको छ। यसका साथै, समूहमा अनधिकृत सदस्यहरू जोडिएर पार्टीविरुद्ध दुष्प्रचार गर्ने, व्यक्तिगत टिका–टिप्पणी गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडा कदम चालिएको बताइएको छ। “पार्टीको आधिकारिक कार्यक्रमबाहेक अन्य कुनै पनि व्यक्तिगत विचार, विवादास्पद टिप्पणी वा गालीगलौज भएमा सम्बन्धित व्यक्तिलाई सो ग्रुप वा पेजबाट हटाइनेछ,” चौधरीले भने।

अनुशासन तोड्नेलाई कारबाहीको चेतावनी

पार्टीले सामाजिक सञ्जालमा देखिएको अनुशासनहीनता र अनधिकृत गतिविधिलाई गम्भीर रूपमा लिएर अब स्पष्ट रूपमा नीति तय गरेको छ। निर्देशनको अवज्ञा गर्ने व्यक्तिमाथि ग्रुपबाट निष्कासन लगायत थप कारबाही हुने स्पष्ट संकेत गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर