देशभर जापानिज इन्सेफ्लाइटिसको प्रकोप, ३१ जनाले ज्यान गुमाए

काठमाडौँ असोज २४ । नेपालमा जापानिज इन्सेफ्लाइटिस (JE)को सङ्क्रमणका कारण यस वर्ष हालसम्म ३१ जनाको मृत्यु भइसकेको छ। यो संख्या पछिल्ला १० वर्षयताकै सबैभन्दा धेरै भएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले जानकारी दिएका छन्।

उनका अनुसार, सन् २०२४ मा मात्रै १६४ जना व्यक्तिमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको छ। गत वर्ष यो सङ्ख्या ८६ मात्र थियो। “विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो,” डा. गौतमले भने, “ज्यान गुमाउनेमध्ये धेरैजसो ४० वर्षभन्दा माथिका व्यक्ति छन्, जो खोप नलगाएका थिए।”

मृत्यु दर उच्च, खोप प्रभाव घट्दै

सन् २०१८ देखि २०२२ सम्म नेपालमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको पनि मृत्यु नभएको तथ्यांक छ। तर सन् २०२३ मा यो सङ्ख्यामध्ये ७ जना र सन् २०२४ मा हालसम्म ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ। डा. गौतमका अनुसार, खोप लगाएकाहरूमा पनि समयसँगै खोपको प्रभावकारिता घट्दै गएपछि सङ्क्रमणको जोखिम बढिरहेको देखिएको छ।

४२ जिल्लाका ११० पालिकामा फैलियो

जापानिज इन्सेफ्लाइटिस हाल देशभरका ४२ जिल्लाका ११० स्थानीय तहमा फैलिएको छ। स्वास्थ्य अधिकारीहरूले विशेषगरी खोप अभियान सुदृढ गर्न, जोखिम समूहलाई लक्षित गरेर सचेतना फैलाउन र बिरामी देखिएपछि छिटो उपचारमा पुग्न आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर