जनकपुरधाम असोज २४ । सिराहाको धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल नजिकै हिजो बिहान गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको यात्रुबाहक बसबाट खसेर लहान नगरपालिका–१ निवासी २१ वर्षीय सहचालक पवनकुमार यादव गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश पालका अनुसार बसको पछाडिको चक्काले किचिएर यादव गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर, मध्याह्न १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे। घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





