ऐजेन्सी असोज २४ । इजरायल र गाजाबीच युद्धविरामका लागि सहमति भएको छ। इजरायली मन्त्रिपरिषद्ले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। अनुमोदनपछि २४ घण्टाभित्र युद्धविराम लागू हुने जनाइएको छ।
इजिप्टमा बिहीबार भएको वार्तामा इजरायल र हमासले युद्धविराम सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार, हमासले इजरायली बन्धकहरूलाई रिहा गर्नेछ भने इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्नेछ। साथै, इजरायली सेना गाजाबाट फिर्ता हुने र मानवीय सहायता लिएर ट्रकहरू गाजामा प्रवेश गर्ने व्यवस्था मिलाइनेछ। युद्धविराम सुरु भएदेखि ७२ घण्टाभित्र बन्धकहरूको रिहाइ हुने जनाइएको छ। सोमबारदेखि बन्धक रिहाइको प्रक्रिया थालिने अपेक्षा गरिएको छ।
यस घोषणासँगै गाजामा रहेका प्यालेस्टिनी नागरिक र इजरायली बन्धकका परिवारहरूमा उत्साह देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। विशेषज्ञहरूका अनुसार, यो युद्धविरामलाई शान्तिप्रतिको महत्वपूर्ण संकेत मानिए पनि स्थायी शान्तिका लागि अझै गहिरो वार्ता आवश्यक छ।





