बाँधको ढोका नखोल्दा रौतहट जलमग्न, सिडिओको आग्रह भारतीय पक्षले अस्वीकार

रौतहट असोज २० । बाग्मती, लाल बकैया, झाँझ र चादी नदीमा आएको भीषण बाढीका कारण रौतहटका दर्जनभन्दा बढी बस्तीहरू डुबानमा परेका छन्। बाढीले जनजीवन कष्टकर बनेको छ भने दुई जनाको मृत्यु र पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन्। बाढीको पानी सदरमुकाम गौरसहित बन्जरहा, गंगा पिप्रा, मत्सरी, परोहा, गुजरा, गढीमाई, बेलबिछवा, पिप्रा रजबाडा, मर्यादपुर, तेजापाकड लगायतका बस्तीमा पसेको छ। गौर नगरपालिकाका अनुसार मुख्य सडकमा ३ फिटसम्म पानी जमेको छ, जसले यातायात पूर्ण अवरुद्ध बनाएको छ। गौर–कलैया सडकखण्ड डुबानमा पर्दा राष्ट्रिय राजमार्गसँगको सम्पर्क टुटेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम गौरबाट भित्रिने र बाहिरिने सबै मार्ग ठप्प छन्।

सरकारी कार्यालय र सुरक्षाका संरचना समेत जलमग्न

बाढीले जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, कृषि विकास बैंक, गौर नगरपालिका लगायतका कार्यालयहरू प्रभावित बनाएका छन्। यस्तै, सशस्त्र प्रहरीको गौर भन्सार बीओपी, नेपाल प्रहरी चौकी, बेलबिछवा र नम्बर ११ गण समेत डुबानमा परेका छन्।

भारतीय पक्षको बेवास्ता र आरोप

नेपाल–भारत सीमामा रहेको बाँधको ढोका खोल्न नेपाली प्रशासनले पटक–पटक अनुरोध गरे पनि भारतीय पक्षले बेवास्ता गरेको आरोप लागेको छ। प्रमुख जिल्ला अधिकारी विनोद खडकाले भारतीय समकक्षीसँग बाँधको ढोका खोल्न आग्रह गरे पनि भारतीय डीएमले कुनै प्रतिक्रिया नदिएको जनाइएको छ। नेपाली सुरक्षाकर्मीले समेत हिजोदेखि अनुरोध गर्दै आए पनि भारतीय पक्षले ढोका नखोली उल्टै बाँधमा सुरक्षा गस्ती बढाएको छ। यसले नेपालतर्फको पानी निकास अवरुद्ध भएको छ।यसैबीच, सामाजिक सञ्जालमा भारतीय प्रशासनमाथि ‘बाँध थुनेर नेपालीलाई मार्न खोजेको’ भन्दै व्यापक आक्रोश देखिएको छ।

अलपत्र यात्रुको उद्धार

भारततर्फबाट बाढीका बेला नेपाल प्रवेश गरेका यात्रुहरू गौर नाकामा अलपत्र परेका थिए। गौर नगरपालिकाले ट्याक्टरमार्फत उनीहरूलाई सुरक्षित स्थानमा पु¥याएको मेयर शम्भु साहले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर