दार्जिलिङमा historic वर्षा र पहिरो, २४ जनाको मृत्यु

दार्जिलिङ असोज २० । पश्चिम बंगालको दार्जिलिङमा आइतबार परेको मुसलधारे वर्षापछि आएको विनाशकारी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ। ज्यान गुमाउनेमध्ये सात जना बालबालिका रहेको अधिकारीहरूले जनाएका छन्। अझै पनि धेरै मानिस बेपत्ता छन् भने खोज तथा उद्धार कार्य जारी छ।

पहिरोले थुप्रै घरहरू बगाएको छ, जसले दार्जिलिङ र सिक्किमको सडक सम्पर्क पूर्णरूपमा विच्छेद गराएको छ। दार्जिलिङ–कुर्सियङ खण्डको राष्ट्रिय राजमार्ग अवरुद्ध हुनुका साथै मिरिक र दुधिया नजिकैको फलामे पुल भत्किदा सिलिगुडी जान सकिने वैकल्पिक मार्ग समेत बन्द भएको छ। बाढी र पहिरोका कारण हजारौं पर्यटक अलपत्र परेका छन्। अलिपुरद्वार क्षेत्रमा रेलवे ट्र्याक डुबानमा परेपछि तीन वटा रेल सेवा रद्द गरिएको छ। त्यस्तै, दार्जिलिङ र कालिम्पोङका चिया बगानहरूमा पनि डुबानले क्षति पुर्‍याएको छ।

पछिल्ला २४ घण्टामा दार्जिलिङ र वरपरका क्षेत्रमा करिब १६ इन्च वर्षा मापन गरिएको छ। स्थानीयहरूका अनुसार १९९८ यताकै सबैभन्दा भारी वर्षा यही हो। मौसम पूर्वानुमान अनुसार मंगलवार बिहानसम्म दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी र कुचबिहारमा अझै भारी वर्षा हुन सक्ने भएकाले थप पहिरोको जोखिम उच्च रहेको चेतावनी दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर