काठमाडौँ असोज २० । शुक्रबार र शनिबार परेको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र सम्बन्धित दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ। अझै पनि सात जना बेपत्ता रहेका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ, जहाँ ४९ जनाले ज्यान गुमाएका छन्। तीमध्ये इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पुष्टि गरिएको छ। त्यसैगरी, पाँचथरमा ८ जना, उदयपुर र खोटाङमा २र२ जना, रौतहटमा ३ जना र काभ्रेपलाञ्चोकमा २ जनाको ज्यान गएको छ। विभिन्न ठाउँमा उद्धार कार्य जारी रहेको बताइएको छ।
बेपत्ता भएकाहरूको विवरण अनुसार रसुवामा ४ जना, बारामा १ जना, इलाममा १ जना र काठमाडौंमा १ जना हराइरहेका छन्। सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय तहका टोलीहरू खोजी तथा उद्धारमा खटिएका छन्। यसैबीच, गृह मन्त्रालयले वर्षा अझै केही दिन जारी रहने अनुमानसहित जोखिमयुक्त स्थानहरूमा सर्तकता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विपद्को क्षति न्यूनीकरणका लागि संघीय सरकार र प्रदेश सरकारबीच समन्वय गरिरहेको जानकारी गराइएको छ। प्राकृतिक विपद्बाट ज्यान गुमाउनेहरूप्रति देशभर शोक व्यक्त गरिँदै छ भने बेपत्ताहरूको सकुशल उद्धारको अपेक्षा गरिएको छ।






