काठमाडौँ असोज २० । देशभर भारी वर्षाका कारण पूर्वी नेपालका विभिन्न जिल्लाहरू विशेषगरी इलाममा आएको बाढी, पहिरो र डुबानजन्य विपद्को पृष्ठभूमिमा प्रधानमन्त्री सुशीला कार्कीले गहिरो दुःख व्यक्त गरेकी छन्। आज सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै प्रधानमन्त्री कार्कीले दिवङ्गतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेकी हुन्। साथै, उनले उद्धार तथा राहत कार्यमा संलग्न सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीय निकायप्रति आभार व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले लेखेकी छन्,
“विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु।”
उनको भनाइ अनुसार, सरकारले आवश्यक सहयोग र समन्वयका लागि सबै संयन्त्रहरू परिचालन गरिरहेको छ। उनले आश्वस्त पारिन् कि राज्य पीडित नागरिकको साथमा खटिएको छ र पुनःस्थापनासम्मको यात्रामा कुनै कसर बाँकी राखिने छैन। यसैबीच, प्रभावित क्षेत्रहरूमा उद्दार कार्य तीव्र पारिएको छ भने जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको जनाइएको छ। मौसमको अवस्था अझै पनि संवेदनशील रहेकाले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।





