भारत असोज २० । भारतको राजस्थान राज्यको राजधानी जयपुरस्थित सवाई मानसिंह अस्पतालमा गएराति भएको भीषण आगलागीमा परी ७ जना गम्भीर बिरामीको मृत्यु भएको छ। घटना अस्पतालको ट्रमा सेन्टर अन्तर्गतको आईसीयू वार्डमा राति सवा दस बजेतिर भएको हो।
घटनाका बेला वार्डमा भर्ना भएका अधिकांश बिरामी गम्भीर अवस्थामा थिए। कोमामा रहेका बिरामीहरूलाई समयमै सार्न कठिन भएकाले ठूलो जनधनको क्षति भएको अस्पताल प्रशासनले जनाएको छ। विषाक्त धुवाँ र ग्यासले अवस्था झन जटिल बनाएको थियो। ट्रमा सेन्टरका इन्चार्ज डा. अनुराग धाकडका अनुसार प्रारम्भिक रूपमा आगलागीको कारण सर्ट सर्किट देखिएको छ। “आईसीयूमा रहेका धेरै बिरामीहरू सास फेर्ने यन्त्रमा आश्रित थिए, जसले गर्दा तत्कालै सार्न सकिने अवस्था थिएन,” उनले बताए। अस्पतालमा रहेका चिकित्सक, नर्स र दमकल कर्मीहरूको तत्पर प्रयासपछि आगो नियन्त्रणमा लिइए पनि ६ जना बिरामीको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। अन्य गम्भीर अवस्थाका बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
घटनापछि राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा राति नै अस्पताल पुगेर अवस्थाको अवलोकन गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। अस्पताल प्रशासनले घटनाको छानबिनका लागि समिति गठन गरेको छ। यस्तै, प्रहरी र फोरेन्सिक विज्ञहरूको टोलीले घटनास्थलको परीक्षण गरिरहेको छ। प्रारम्भिक अनुसन्धानले सर्ट सर्किटको आशंका गरे पनि पूर्ण सत्यतथ्य विवरण अनुसन्धानपछि मात्र सार्वजनिक हुने बताइएको छ।घटनापछि अस्पताल परिसरमा सुरक्षा र अग्नि सुरक्षासम्बन्धी पूर्वतयारीमाथि प्रश्न उठिरहेका छन्। यसैसाथ, अस्पताल प्रशासनले आगलागी जस्ता घटनाबाट सुरक्षा गर्न तत्काल सुधारात्मक कदम चाल्ने आश्वासन दिएको छ।






