अविरल वर्षाले रौतहटका सडक बगायो, यातायात ठप्प

रौतहट असोज २० । रौतहटमा निरन्तर भइरहेको अविरल वर्षाका कारण जनजीवन कष्टकर बन्दै गएको छ। मुसलधारे पानीले गाउँदेखि नगरसम्मको जनजीवन प्रभावित बनाएको छ भने प्रमुख सडकखण्डहरूमा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार जयनगर–मौलापुर–सोनारनिया–हरनहिया–कलैया जोड्ने सडक खण्डको एक हिस्सा बगाउँदा सो क्षेत्रको यातायात सम्पूर्ण रूपमा ठप्प भएको छ। विशेष गरी सोनारनिया गाउँबाट पश्चिमतर्फको कालोपत्रे सडक आइतबार साँझ करिब ७–८ फिट बगाएको हो। सडक बग्दा ठूला सवारी साधन सञ्चालनमा समस्या आएको छ। साइकिल र मोटरसाइकल मुस्किलले आवतजावत गरिरहेका छन् भने चारपांग्रे सवारीहरू वैकल्पिक रूपमा सोनारनिया–सागैया–पिपरिया मार्ग हुँदै हुलाकी सडक प्रयोग गर्न बाध्य छन्।यसैबीच, सदरमुकाम गौर नगरपालिकामा पानीको निकास नहुँदा स्थिति थप जटिल बन्दै गएको छ। बजार क्षेत्रका सडक र गल्लीहरूमा पानी जमेर अधिकांश पसल, घर र सरकारी कार्यालय जलमग्न भएका छन्। जिल्ला अदालत, मालपोत कार्यालयसहितका सरकारी निकायको प्राङ्गणमा दुई–तीन फिटसम्म पानी जमेको छ।

सबगढा लचकामा पनि पानीको तीव्र बहावका कारण यातायात पूर्ण रूपमा अवरुद्ध छ। तर, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–१ र २ स्थित क्षेत्रमा पानीको बहाव कम भएसँगै सवारी सञ्चालन सामान्य अवस्थामा फर्किएको ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए। बागमती नदीको जलस्तर अहिले सामान्य भए पनि समनपुर–धरमपुर सडक खण्डमा पानी जमिरहेकाले सवारी आवागमनमा समस्या भइरहेको छ। पश्चिमी भेगको लालबकैया नदी र पूर्वी भेगको चाँदी खोला तथा झाँझ खोला भने अझै पनि जोखिमपूर्ण अवस्थामा छन्। अवस्थालाई झन् चुनौतीपूर्ण बनाउने गरी आइतबार बागमती र लालबकैया नदीका केही स्थानमा बाँध फुट्दा सयौँ बिघा धान तथा उखु खेतीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना राहत तथा उद्धार कार्यमा खटिएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर