वीरगन्जमा डुबान: सिर्सिया र तिलावे नदीको तीव्र बहावले थप्यो त्रास

पर्सा असोज १९ । लगातार परेको वर्षाले सिर्सिया र तिलावे नदीको बहाव तीव्र बन्दै गर्दा वीरगन्ज महानगरपालिकाका धेरै बस्तीहरू डुबानमा परेको छ। विशेषगरी महानगरका वडा नं ९, १०, ११, १३ र २४ का विभिन्न टोलहरूमा बाढीले घरहरू जलमग्न बनाउँदै जनजीवन अस्तव्यस्त भएको छ।

स्थानीयहरूको जानकारी अनुसार यो पहिलोपटक हो कि नदीको पानी गाउँभित्रै पसेर बस्तीहरूमा ठूलो क्षति पुर्‍याएको छ। सिर्सिया नदीको ओभरफ्लोले बस्तीहरूमा पानी फैलिएको छ भने तिलावे नदीको उर्लँदो भेलले खेतबारी र आसपासका क्षेत्रमा डुबानको समस्या बढाएको छ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि पुगेका छन्। मेयर सिंहले सम्बन्धित निकायलाई उद्धार र राहत कार्यमा शीघ्रता ल्याउन निर्देशन दिएका छन्।

उनले सिर्सिया र तिलावे नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न पनि आग्रह गरेका छन्। साथै, अन्य क्षेत्रहरूमा पनि पानी पस्ने जोखिम कायमै रहेकाले महानगरपालिकाले राहत तथा उद्धार कार्यमा थप सक्रियता ल्याएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर