इजरायली हवाई आक्रमणमा गाजा रक्ताम्य, ७० को मृत्यु

गाजा असोज १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई गाजामाथिको आक्रमण रोक्न आग्रह गरे पनि इजरायली सेनाले आक्रमण जारी राख्दा कम्तीमा ७० जना प्यालेस्टिनीको मृत्यु भएको छ।

शनिबार गरिएको तीव्र बमबारी र हवाई आक्रमणमा गाजाको राजधानी क्षेत्रमा मात्रै ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ। चिकित्सकहरूका अनुसार गाजा सहरको तुफ्फाह क्षेत्रमा एक आवासीय भवनमा गरिएको आक्रमणमा १८ जना को ज्यान गएको छ। गाजाको नागरिक रक्षा एजेन्सीका अनुसार मृतकमध्ये सात जना बालबालकाहरू रहेका छन्, जसको उमेर दुई महिनादेखि आठ वर्षसम्मको थियो। इजरायली सेनाले दक्षिणी गाजाको अल–मवासीस्थित विस्थापित शिविरलाई पनि निशाना बनाएको बताइएको छ, जहाँ थप २ बालबालिकाको मृत्यु भएको छ।

युद्धविराम प्रयासमाथि शंका

अमेरिकी राष्ट्रपति ट्रम्पले हमाससँगको अप्रत्यक्ष सहमतिलाई आधार बनाउँदै युद्ध अन्त्यको २० बुँदे योजना अघि सारेका थिए। केही बुँदाहरूमा सहमति बनेपछि ट्रम्पले गाजामा युद्ध अन्त्य गर्न आग्रह गरेका थिए। तर, आक्रमण नरोकेको भन्दै विश्लेषकहरूले शान्ति प्रक्रियामाथि प्रश्न उठाएका छन्। अल जजीराकी संवाददाता हिन्द खौदारीका अनुसार मध्य गाजाको नुसेरात शरणार्थी शिविरसहित विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी छ। उनले भनिन्, मैदानमा भइरहेका घटनाहरूले कुनै पनि प्रकारको युद्धविराम भएको संकेत देखाउँदैन।

नेतान्याहूको चेतावनी र आशा

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले टेलिभिजनमार्फत सम्बोधन गर्दै गाजामा रहेका इजरायली बन्धकहरूको छिटै रिहाइ हुने आशा व्यक्त गरे। उनले भने, ूहमासलाई निशस्त्र गरिनेछ र गाजा सैन्यीकरणमुक्त बनाइनेछ, चाहे सजिलो होस् वा कठिन तरिकाबाट। हाल हमासको नियन्त्रणमा ४९ जना बन्धक छन्, जसमा ४५ इजरायली, २ थाइ नागरिक, १ नेपाली र १ तान्जानियाली नागरिक रहेको बताइएको छ। तर, तीमध्ये करिब २० जना मात्रै जीवित रहेको अनुमान गरिएको छ।

हमासको आरोप

शान्ति प्रस्तावमा सहमति जनाए पनि आक्रमण नरोकेको भन्दै हमासले इजरायलमाथि नरसंहारु जारी राखेको आरोप लगाएको छ। उसले इजरायलविरुद्ध अन्तर्राष्ट्रिय समुदायले कडा दबाब दिनुपर्ने माग पनि गरेको छ। यसैबीच, इजिप्टमा सोमबारदेखि अप्रत्यक्ष युद्धविराम वार्ता सुरु हुने तय भएको छ। राष्ट्रपति ट्रम्पले भनेका छन्, सम्झौतामा ढिलाइ अब सह्य हुने छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ