“सतर्कता नै सुरक्षाको उपाय हो : प्रचण्ड”

काठमाडौँ असोज १९ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षाका कारण देशभरि उत्पन्न विपद्‌जन्य स्थितिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै उनले इलाममा गएको पहिरो, बाढी र डुबानबाट भएको जनधनको क्षतिप्रति पीडा व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। “इलामका विभिन्न स्थानमा पहिरोमा परी हालसम्म १८ जनाको ज्यान गएको र कैयौँ बेपत्ता भएको अत्यन्त पीडादायी खबरले म गहिरो रूपमा दुःखी छु,” प्रचण्डले भनेका छन्। उनले विगत केही दिनदेखि सक्रिय बनेको मौसमी प्रणालीका कारण देशको पूर्वी तथा मध्य भूभागमा अविरल वर्षा भई बाढी, पहिरो र डुबानजस्ता विपद्का घटनाबाट गम्भीर जनधनको क्षति भएको उल्लेख गरेका छन्।

त्यस्तै, रसुवा लगायतका जिल्लामा पनि मानिसहरू बेपत्ता भएका, दर्जनौँ घर र पूर्वाधार ध्वस्त भएका, पशुपंक्षी तथा अन्नबालीमा क्षति पुगेको र जनजीवन कष्टकर बनेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। जोखिम अझै कायम रहेको भन्दै उनले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, उनले पार्टीका सबै तहका संरचनाहरूलाई उद्धार, राहत तथा पुनर्स्थापनाको कार्यमा सक्रिय हुन निर्देशन दिएका छन्। “पार्टीका सबै तहका संरचनालाई तत्काल उद्धार, राहत र पुनःस्थापनाको कार्यमा जुट्न निर्देशन दिएको छु,” प्रचण्डले लेखेका छन्, “साथै, सबै पार्टी कार्यालयमा सहायता कक्ष स्थापना गरी राहत र सहयोगमा जुट्न आह्वान गर्दछु।”

प्रतिक्रिया
सम्बन्धित खवर