इलाम असोज १९ । इलाम जिल्लामा गएको बाढी र पहिरोले हालसम्म २८ जनाको ज्यान लिएको पुष्टि भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार जिल्लाका ६ वटा पालिकामा बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ।
डिएसपी थापाका अनुसार सूर्योदय नगरपालिका–१ मा पाँच जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। इलाम नगरपालिका–६ मा पनि ६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, देउमाई नगरपालिका मा २ जना, फाकफोकथुम गाउँपालिका मा १ जना, माङ्सेबुङ गाउँपालिका मा ३ जना र माइजोगमाई गाउँपालिका मा ८ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसैगरी, सन्दकपुर गाउँपालिका मा पनि ३ जनाको ज्यान गएको छ।
माङ्सेबुङबाट नेपाली सेनाले दुई जनालाई हेलिकप्टरमार्फत उद्धार गरेको छ। उद्धार गरिएकामध्ये एक जना पुरुष र एक जना गर्भवती महिला रहेका छन्। दुवैलाई विराटनगरस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ। स्थानीय प्रशासन, सुरक्षाकर्मी, नेपाली सेना र जनसहभागितामा उद्धार तथा राहत वितरण कार्य तीव्र पारिएको छ। अधिकारीहरूले जोखिमयुक्त क्षेत्र खाली गर्न स्थानीयलाई आग्रह गरेका छन्।





