जनकपुरधाम असोज १८ । लगातारको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका सबै निजी विद्यालयहरू असोज १९ र २० गते बन्द रहने भएका छन्। वर्षाका कारण विद्यार्थीहरूको सुरक्षामा खतरा देखिएपछि विद्यालय सञ्चालक संस्थाहरूले दुई दिनको लागि शैक्षिक गतिविधि स्थगित गर्ने निर्णय गरेका हुन्। प्याब्सन जनकपुरधाम र एनप्याब्सन जनकपुरधामले शनिबार संयुक्त सूचना जारी गर्दै विद्यालयहरू अस्थायी रूपमा बन्द गरिने जानकारी दिएका छन्। जनकपुरधाम र वरपरका क्षेत्रमा निरन्तर वर्षा भैरहेको छ, जसका कारण सडकहरूमा पानी जमेको, विद्यालय परिसरहरू हिलाम्मे बनेको र यातायातमा समेत अवरोध सिर्जना भएको बताइएको छ।
सुरक्षा प्राथमिकतामा
दुबै संस्थाका नगर अध्यक्षहरू—रविन्द्र कुमार चौधरी प्याब्सन र दीपक कुमार ठाकुर एनप्याब्सन—ले संयुक्त विज्ञप्तिमा भनेका छन्, विद्यार्थी र अभिभावकहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै विद्यालयहरू बन्द गर्ने निर्णय लिइएको हो। यो कदम जनस्वास्थ्य र सुरक्षाको दृष्टिकोणले अत्यावश्यक छ।
सबै शैक्षिक कार्यक्रमहरू स्थगित
विद्यालय बन्द रहने दुई दिनको अवधिमा परीक्षा, खेलकुद, अभिभावक बैठक, तालिम लगायतका सबै कार्यक्रमहरू समेत स्थगित गरिएको जनाइएको छ। निरन्तर वर्षाको असरले जनजीवन प्रभावित भएको छ भने विद्यालय जाने बाटोहरू पनि जोखिमपूर्ण बनेका छन्। विद्यालयहरू पुनस् कहिले खुल्ने भन्ने विषयमा वर्षाको अवस्था हेरि पछि निर्णय हुने बताइएको छ।





