पर्सा असोज १८ । बंगालको खाडीबाट विकसित मौसमी प्रणालीको प्रभावले मधेश प्रदेशलगायत देशका विभिन्न भागमा भारी वर्षा भएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा पर्साको वीरगञ्जमा मापन गरिएको छ, जहाँ ११७ मिलिमिटर पानी परेको छ।
पर्साकै मुडली, रंगपुर र टाँडीबजार क्षेत्रहरूमा पनि उल्लेख्य वर्षा मापन गरिएको छ। यसैबीच, बाराको कलैयामा १०५.८ मिमि, रौतहटको गौरमा १०४.६ मिमि, महेशपुरमा १०१.४ मिमि, र गरुडामा ८९.६ मिमि वर्षा मापन भएको छ।
कैलालीमा पनि उल्लेख्य वर्षा
मधेश प्रदेश अन्तर्गत कैलालीको गर्भा दरबार केन्द्रमा पनि ८६ मिमि वर्षा मापन गरिएको छ। मौसमविदहरूका अनुसार, वर्षाको दर अझै बढ्ने संकेत देखिएको छ, र यो क्रम राति झन तीव्र हुन सक्ने सम्भावना छ।
बाढीको उच्च जोखिममा ४० जिल्ला
जल तथा मौसम विज्ञान विभागका अनुसार ४० जिल्ला बाढीको उच्च जोखिममा छन्। काठमाडौँ उपत्यका समेत जोखिमको सूचीमा परेको छ। विभागले असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढीको अति उच्च जोखिममा रहेका जिल्लाहरू;
मधेश प्रदेश; सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा
बागमती र अन्य; सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन
उच्च जोखिममा रहेका अन्य जिल्लाहरू;
पूर्वी पहाडी जिल्ला; इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ
गण्डकी र लुम्बिनी क्षेत्र; रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्वरपश्चिम, रुपन्देही, कपिलवस्तु
मध्यम जोखिममा रहेका जिल्ला;
कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके र बर्दिया।
विभागको आग्रह
मौसम विभागले नदी किनार, पहिरो सम्भावित क्षेत्र, निम्न भूभाग, तथा डुबानका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन, आकस्मिक अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पूर्वतयारी गर्न र सम्भव भए सुरक्षित स्थानतर्फ सर्न सुझाव दिएको छ।






