रौतहटमा बाढीको खतरा: १०० घरधुरी सुरक्षित स्थानमा सारियो

रौतहट असोज १८ । बागमती र लालबकैया नदीमा पानीको सतह निरन्तर बढ्न थालेपछि रौतहटका नदी किनारका बस्तीहरूमा बाढीको जोखिम उच्च बनेको छ। जोखिम बढेसँगै सशस्त्र प्रहरी बलको सहकार्यमा भोटियाघाटस्थित १०१ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भूभागमा अति भारी वर्षाको चेतावनी जारी गरेपछि सशस्त्र प्रहरी बलले अग्रिम रूपमा उद्धार र सतर्कता कार्यक्रम सुरु गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नं ११ गण, हे।क्वा। रौतहटसहित सन्तपुर, दुधियाभार, विजयपुर र समनपुरका बेस क्याम्पहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई माइकिङमार्फत सचेत गराउँदै सुरक्षित स्थानमा जान अनुरोध गरेका छन्।

एकैदिन १०० भन्दा बढी घरधुरी स्थानान्तरण

जिल्ला विपद् व्यवस्थापन समितिको निर्देशनअनुसार वृन्दावन नगरपालिका–१ अन्तर्गत पर्ने भोटियाघाट क्षेत्रबाट असोज १७ गते मात्र १२८ घरधुरीमध्ये १०१ घरधुरीलाई तत्काल सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी राम हरी अधिकारीले जानकारी दिए। “बाढी जोखिम उच्च भएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेका छौं। हाम्रो टोली २४ घण्टा उद्धार र आपतकालीन राहतको लागि तयार छ,” एसपी अधिकारीले भने।

उच्च जोखिम क्षेत्रहरू पहिचान

बाढी जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय तहबीच समन्वय गरी डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायत उद्धार सामग्री तयारी अवस्थामा राखिएको छ। बागमती र लालबकैया नदी आसपासका भोटियाघाट, कटहरिया, मौलापुर, राजपुर, गुजरा, इशनाथ, देवाही गोनाही र गरुडा क्षेत्रलाई उच्च जोखिम क्षेत्रको रूपमा पहिचान गरिएको छ। प्रत्येक वर्ष मनसुन सुरु भएसँगै यी क्षेत्रहरूमा बाढी र डुबानको खतरा निम्तिने गरेकोले यस वर्ष पनि सतर्कता र पूर्वतयारीलाई प्राथमिकता दिइएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ