काठमाडौँ असोज १८ । लगातार भइरहेको वर्षाका कारण काठमाडौँसहित देशका २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान अत्यधिक वर्षाले बाढीको उच्च जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
रेड अलर्ट जारी गरिएका जिल्लाहरूमा काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर र चितवन परेका छन्। महाशाखाले यी जिल्लामा बाढीको अति उच्च जोखिम रहेको जनाएको छ। यी क्षेत्रका नदीहरूमा पानीको बहाव तीव्र गतिमा बढिरहेकोले बाढी तथा डुबानको सम्भावना बढेको चेतावनी दिइएको हो।
त्यस्तै, बाढीको उच्च जोखिम इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा देखिएको छ। मध्यम जोखिमका क्षेत्रहरूमा कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके र बर्दिया रहेका छन्, जहाँ ससाना नदीहरूको बहावमा उल्लेख्य वृद्धि हुने र आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाको आग्रह;
महाशाखाले तटीय क्षेत्रका बासिन्दा, कृषक, नदी आसपासका यात्रु, र निर्माणकार्यमा संलग्न व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। जोखिमयुक्त क्षेत्रमा आकस्मिक उद्धारको तयारी गर्न स्थानीय प्रशासनलाई समेत निर्देशन दिइएको छ।





