जनकपुरधाममा फुटपाथ खाली गर्ने काम सुरु, यातायात व्यवस्थित बनाउने प्रयास

जनकपुरधाम असोज १७ । जनकपुरधाम उपमहानगरपालिकाले शहरभित्र अव्यवस्थित रूपमा व्यापारीहरूले कब्जा गरेका फुटपाथ खाली गर्ने अभियान थालनी गरेको छ। शुक्रबार बिहान १० बजेबाट नगर प्रहरीको टोलीले रेल्वे स्टेशनदेखि भानुचोकसम्मको क्षेत्रमा स्पिकरमार्फत व्यापारीहरूलाई सामान आफ्नो सटरभित्र राख्न अनुरोध गरेको छ।

मेयर मनोज साहले भने, “फुटपाथ भनेको पैदल यात्रीका लागि छुट्टिएको ठाउँ हो, तर व्यापारीहरूले यसलाई गलत रूपमा प्रयोग गरि सर्वसाधारणलाई सडकमा हिँड्न बाध्य बनाइरहेका छन्। शुक्रबार मात्र चेतावनी दिइएको छ, तर शनिबारदेखि भने फुटपाथमा राखिएका सामान जफत गरिनेछ।” नगर प्रहरीको टोलीले भानुचोकदेखि कदमचोकसम्मको क्षेत्रमा अनुगमन गर्दा धेरै व्यापारीले सटर भएको हुँदाहुँदै पनि फुटपाथमा सामान राखेर बिक्री गरिरहेको र बाइक, साइकल तथा ठेला राखेर फुटपाथ पूर्णरूपमा कब्जा गरेको देखिएको छ। मेयर साहले व्यापारीहरूले चेतावनी बेवास्ता गरे कानुनी कारबाही गरिने जानकारी दिएका छन्। उनका अनुसार यो अभियान निरन्तर जारी रहनेछ।

विद्यापतिचोक, रामचोक, जनकचोक, शिवचोक र भानुचोक क्षेत्रमा समेत फुटपाथ कब्जा गरेर पसल सञ्चालन गर्ने र चिया पसल खोल्ने प्रवृत्ति बढ्दो छ, जसले सडकमा अनावश्यक ट्राफिक जाम निम्त्याइरहेको छ। स्थानीयवासीहरूले जनकपुर उद्योग वाणिज्य संघ, जिल्ला ट्राफिक कार्यालय र उपमहानगरपालिकाबीच समन्वय गरेर दीर्घकालीन फुटपाथ व्यवस्थापन योजना बनाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर