काठमाडौँ असोज १७ । दसैंको अवसरमा देशभर यात्रा गर्नेहरूको चाप बढ्दै गर्दा जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मनसुनी वायु सक्रिय भएसँगै देशका विभिन्न भागमा आकस्मिक बाढीको जोखिम बढेको विभागले जनाएको छ।
विभागका अनुसार, बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली भारतको ओडिसाबाट प्रवेश गरी क्रमशः मध्य भारततर्फ सर्दैछ। यसको असरस्वरूप नेपालमा मनसुनी वायु थप सक्रिय भएको छ।
बाढीको उच्च जोखिम भएका क्षेत्रहरू
मौसम विभागले विशेषगरी वागमती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढीको उच्च जोखिम रहेको चेतावनी दिएको छ। काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना देखिएको हो। हालको विश्लेषणअनुसार, नारायणी, बागमती, कमला, कोशी नदी र तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र केही ठाउँमा खतराको तह नजिक पुग्ने सम्भावना छ।
महाभारत र चुरे क्षेत्र विशेष जोखिममा
कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा महाभारत तथा चुरे क्षेत्र हुँदै बहने स–साना खोलानालाहरूमा पनि आकस्मिक बाढीको सम्भावना रहेकाले स्थानीयबासी तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन विभागले अपिल गरेको छ। मनसुन अझै नेपालबाट बहिर्गमन भइनसकेको अवस्थामा विभागले बाढी र मौसमसम्बन्धी अवस्था निरन्तर अनुगमन गरिरहेको जानकारी दिएको छ। विभागले आवश्यक परेमा थप सूचनाहरू जारी गरिने समेत जनाएको छ।





