एजेन्सी असोज १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्न प्रस्ताव गरिएको २०(बुँदे शान्ति योजनामा सहमति जनाएको बताएका छन्।
ह्वाइट हाउसमा हालै सम्पन्न उच्चस्तरीय वार्तापछि ट्रम्प प्रशासनले उक्त योजनाबारे जानकारी दिएको हो। राष्ट्रपति ट्रम्पले यस पहललाई “मृत्यु र विनाश अन्त्य गर्ने दिशातर्फको गम्भीर प्रयास” भन्दै सम्पूर्ण क्षेत्रका लागि शान्ति, सुरक्षा र समृद्धिको नयाँ अध्याय सुरु गर्ने समय आएको बताएका छन्।
हमासलाई प्रस्ताव स्वीकृत गर्न ट्रम्पको आह्वान
राष्ट्रपति ट्रम्पले हमासलाई योजना स्वीकार गर्न स्पष्ट आह्वान गर्दै भने, “यदि हमासले प्रस्ताव अस्वीकार गर्छ भने अमेरिकाले इजरायललाई पूर्ण समर्थन प्रदान गर्नेछ।” योजना अनुसार हमासले सहमति जनाएपछि ७२ घण्टाभित्र बाँकी रहेका सबै वन्धकहरू रिहा गरिनुपर्ने शर्त पनि राखिएको छ। कतार र इजिप्टले हमासलाई उक्त योजनाबारे जानकारी गराइसकेका छन्।
नेतन्याहुको समर्थन, तर चेतावनी पनि
प्रधानमन्त्री नेतन्याहुले योजना प्रति समर्थन जनाउँदै प्यालेस्टिनी प्राधिकरणले आमूल र वास्तविक सुधार बिना गाजाको प्रशासनमा भूमिका खेल्न नसक्ने चेतावनी दिएका छन्। उनले गाजाको भविष्य सुरक्षित गर्नका लागि प्यालेस्टिनी नेतृत्वमा परिवर्तन अपरिहार्य भएको संकेत दिएका छन्।





