काठमाडौा कार्तिक ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले इतिहासकै गम्भीर सङ्कटमा परेको बताएका छन्। महोत्तरीको गोपालपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले देशभर फैलिएको असन्तोष, जनविद्रोह र विध्वंसकारी गतिविधिबाट मुलुक चिन्ताजनक स्थितिमा पुगेको धारणा व्यक्त गरे।
देशमा थुप्रै आन्दोलन भए, तर सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनजस्ता संस्थाहरू जलाउने जस्तो विध्वंस पहिले कहिल्यै देखिएको थिएन, उनले भने। यस्तो अवस्था शान्तिपूर्ण संवादबाट मात्रै समाधान गर्न सकिने भन्दै प्रचण्डले सबै दलहरूलाई एक ठाउँमा उभिन आग्रह गरे।
निर्वाचनमार्फत समाधान खोज्नुपर्नेमा जोड
प्रचण्डले सबैको असन्तुष्टिलाई सम्बोधन गर्न निर्वाचनमा जानुपर्ने धारणा राखे। उनले देशको नेतृत्वको जिम्मेवारी फेरि माओवादीले लिनुपर्ने आवश्यकता औंल्याउँदै भने, सबै दल सङ्कटमा छन्, तर माओवादी छैन। बौद्धिक जगतले पनि देशको नेतृत्व माओवादीले गर्नुपर्ने भनेको छ।
जेनजी पुस्ताको भूमिकाबारे प्रचण्डको दाबी
प्रचण्डले अहिलेको आन्दोलनको नेतृत्वमा रहेको जेनजी पुस्तालाई माओवादी पार्टीले नै साथ दिएको दाबी गर्दै आफूले उनीहरूसँग निरन्तर संवाद गरिरहेको बताए। जनयुद्धमा पनि उनीहरू नै अगाडि थिए, अहिले पनि उनीहरूलाई प्राथमिकतामा राखिएको छ, उनले स्पष्ट पारे।
वाम एकताको नयाँ प्रयास, तर नेतृत्वमा रहन जोड छैन
विगतको वाम गठबन्धन एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण असफल भएको आरोप लगाउँदै प्रचण्डले अहिले फेरि वाम एकताको प्रयास सुरु भएको बताए। तर उनले यो पटक आफू अध्यक्षमै बस्नुपर्ने अडान नराखेको प्रस्ट पार्दै भने, म बिचैमा जिम्मेवारीबाट भाग्ने मान्छे होइन, तर अध्यक्षमा बस्नैपर्छ भन्ने छैन। को अगाडि आउँछ, त्यो हेर्नुपर्छ।
