काठमाडौँ असोज २५ । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि स्थगित गरिएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार ओलीलाई रुघाखोकीले सताएपछि आजको बैठक स्थगित गरिएको हो। अब बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ।
ओली निवास, बालकोटस्थित गुन्डुमा हिजोबाट सुरु भएको सचिवालय बैठकमा केन्द्रीय कमिटीको एजेन्डा तय गर्ने प्रक्रिया अघि बढाइएको थियो। बैठकको पहिलो दिन ९ जना पदाधिकारीले धारणा राखेका थिए, जसमा ६ जनाले अध्यक्ष ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन्। अहिलेकै नेतृत्वमा एमाले अघि बढ्न नसक्ने तर्क गर्दै उनीहरूले पार्टीमा नेतृत्वको पुनः संरचनाको माग गरेका छन्। बाँकी पदाधिकारीहरूले भोलिको बैठकमा आफ्नो धारणा राखेपछि मात्रै केन्द्रीय कमिटीको बैठकको मिति, एजेन्डा र दायरा टुंगो लाग्ने बताइएको छ।
ओलीको स्वास्थ्यले पार्टीको महत्वपूर्ण निर्णय प्रक्रिया केही समयका लागि रोकिएको छ भने, सचिवालय भित्रै नेतृत्व परिवर्तनको माग खुलेर उठ्न थालेको छ।
