महोत्तरीमा लगातार वर्षाले जनजीवन अस्तव्यस्त, धेरै क्षेत्र डुबानमा

महोत्तरी असोज १९ । शुक्रवार रातिदेखि परेको निरन्तर वर्षाले महोत्तरी जिल्लाका विभिन्न क्षेत्र जलमग्न भएका छन्। जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, औरही, बलवा, महोत्तरी गाउँपालिका, बर्दिबास, सम्सी र लोहरपटी नगरपालिका प्रभावित क्षेत्रको सूचीमा छन्।

जलेश्वर नगरपालिकामा अस्पताल, निर्वाचन कार्यालय, कारागार, महादेव मन्दिर, नगरपालिकाको कार्यालय र साहुजी पटीलगायतका बस्तीहरूमा पानी पसेर जनजीवन प्रभावित बनेको छ। मटिहानी नगरपालिकाको वडा नं १, ६, ८ र ९ का क्षेत्र पूर्ण रूपमा डुबानमा छन् भने सिमरदही टोलमा बस्ती नै पानीमुनि परेको छ।

बलवा नगरपालिकामा तीन फिटसम्म पानी जमेको छ भने पिपरा गाउँपालिकामा पानी पसेपछि जनकपुरधाम–जलेश्वर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाका मुख्य नदीहरू विगही, औरही, कुटमेश्वरी र रातुको पानीको स्तर तीव्र रूपमा बढेपछि आसपासका बस्तीहरू डुबानमा परेका छन्। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार उद्धार र रेस्क्यु टोलीहरू जिल्ला भर परिचालित गरिएको छ। हालसम्म मानवीय क्षतिको सूचना नआएको बताउँदै उनले थप क्षति हुन नदिन आफू स्वयं स्थलगत निरीक्षणमा रहेको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ