“नवरात्रको समापनः आश्विन शुक्ल नवमी र महानवमी पर्व धूमधामसँग मनाइँदै”

काठमाडौँ असोज १५ । नवरात्रको नवौँ तथा अन्तिम दिन आज आश्विन शुक्ल नवमीको अवसरमा देशभर श्रद्धा, भक्ति र परम्पराअनुसार महानवमी पर्व मनाइँदैछ।

आजको दिन नवदुर्गामध्येकी सिद्धिदात्री देवीको विशेष पूजाआराधना गरिन्छ। घटस्थापनाका दिन राखिएको जमरा शक्तिपीठहरूमा लगी चढाउने प्रचलन छ। साथै, दुर्गा पूजा, दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। राज्यका कोतघर, शक्तिपीठ र मन्दिरहरूमा बलिपूजा गरिँदैछ। बोका, राँगा, हाँस र कुखुराको बलिसहित देवीको पूजा गर्ने चलन रहेको छ। कतिपय स्थानमा महाष्टमीमा बलि दिइए पनि आजको दिन मार हान्ने  परम्परा कायम छ।शाकाहारी अनुयायीहरू कुभिण्डो, काँक्रो, मूला, घिरौंला र नरिवलको बलिसहित पायस खीर चढाएर देवीको आराधना गर्छन्। महानवमीको ऐतिहासिक र धार्मिक महत्व पनि उल्लेखनीय छ। मार्कण्डेय पुराण अनुसार यही दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकी थिइन्, जसले यो पर्वलाई विशेष बनाएको हो। कतिपय शक्तिपीठमा पञ्चबलिसमेत दिने परम्परा रहेको छ।

हनुमानढोका दरबार, नेपाली सेना र कोतहरूमा विशेष पूजा
महानवमीको अवसरमा नेपाली सेनाका ब्यारेक, गुल्महरू र कोतहरूमा कोतपूजा र निशानापूजा गरिँदैछ। हनुमानढोका दरबार क्षेत्रमा बाजागाजासहित कोतपूजा गर्ने परम्परा आज पनि जीवितै छ। देशभरका शक्तिपीठ र मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। दुर्गा देवीको प्रतीकस्वरूप कन्यापूजा गरिने र कन्यालाई दक्षिणा दिइने प्रचलन पनि आजको विशेष पक्ष हो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ