आज ७:३० बजे राजदेवीमा बोकाबली चढाइँदै, भक्तजनको भीड

जनक्नन्दनी समचारदाता १४ । आराध्य देवी दुर्गाको उपासना अन्तर्गत आज साँझ ७ बजेदेखि जनकपुरधामस्थित ऐतिहासिक राजदेवी मन्दिरमा बोकाबली प्रदान गरिने कार्यक्रम तय भएको छ।

यसअघि षष्ठी तिथिमा निमन्त्रणा गरिएको जोडा बेललाई सोमबार सप्तमीका दिन विधिपूर्वक तोडेर शक्तिपीठमा ल्याइ, दुर्गा मूर्तिमा आँखाको नानी थप्ने बेलतोडी विधि वैदिक मन्त्रोचारणसहित सम्पन्न भएको हो। राजदेवी मन्दिरका लागि बेलको निमन्त्रण जिल्ला समन्वय समिति परिसरस्थित पुरानो बेलवृक्षबाट गरिएको थियो। सोमबार पूजापछि मूर्तिमा नयन प्रतिष्ठा गरिएको हो। यसक्रममा जनकपुरधामका मुरली चोक, रामानन्द चोक र वशिष्ठ चोकका शक्तिपीठहरूमा पनि खोइँछ भराइँ कार्यक्रम सम्पन्न भएको छ।

महावीर युवा कमिटीका अनुसार मंगलबार बिहानदेखि प्रसाद अर्पण सुरु भइसकेको र साँझ ७ बजेदेखि बोकाबली प्रदान गरिनेछ। कमिटी अध्यक्ष दीपक साह मिन्टुले बताए अनुसार यसवर्ष ७ हजारभन्दा बढी बोकाबलीका लागि रसिद काटिएको छ। यसैबीच, तराई–मधेशका शक्तिपीठहरूमा पनि दुर्गा पूजाको रौनक छाएको छ। बेलतोडी, खोइँछ र बोकाबली जस्ता विधिहरूका माध्यमबाट देवीलाई पारिवारिक सदस्यझैँ पूजा गर्ने परम्परा अझै जीवित छ। मैथिल समुदायमा देवीलाई छोरी वा चेलीझैँ माया गरेर सेवा गरिन्छ, भने विसर्जनको बेला भावुक विदाइ गरिन्छ।

संस्कृतिविद्हरूका अनुसार यस्तो पारिवारिक भक्तिलाई ुवात्सल्य मार्गु भनिन्छ, जसले धार्मिकता मात्र होइन, सामाजिक एकताको सन्देश पनि दिन्छ। मूर्ति पूजादेखि विसर्जनसम्मको सामूहिक सहभागिताले पूजालाई सांस्कृतिक उत्सवको रुपमा समेत स्थापित गराएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर