काठमाडौँ असोज ६ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै अब नेपाली आमाको नामबाट पनि वंशज नागरिकता लिन सहज हुने भएको छ। यसअघि वंशजको नागरिकता लिन बाबुको पहिचान अनिवार्य थियो। नयाँ संशोधन अनुसार, बाबुको सम्पर्क नभएको वा पहिचान नखुलेको अवस्थामा पनि आमाको नामबाट वंशज नागरिकता प्रदान गर्न सकिने स्पष्ट व्यवस्था गरिएको छ।
बिना बाबुको पहिचान नागरिकता लिन बाटो खुला
संशोधित ऐनको दफा २ को उपदफा ५ (क) मा भनिएको छ— “नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई पहिचान नभएको खण्डमा आमाको स्वघोषणामार्फत बाबुको पहिचान नभएको मानिनेछ र यस्तो अवस्थामा वंशजको नागरिकता प्रदान गरिनेछ।” त्यस्तै, आमाको मृत्यु भइसकेको वा ठेगाना नभएको अवस्थामा पनि चिकित्सकीय प्रमाणका आधारमा आमाको स्वघोषणा आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
विदेशमा जन्मिएकालाई पनि अङ्गीकृत नागरिकता पाउने सुविधा
संशोधनले विदेशमा जन्मिएकालाई पनि नागरिकता पाउने व्यवस्था गरेको छ — नेपाली आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने, विदेशी नागरिकता वा राहदानी नलिएका, र बाबुको पहिचान नखुलेका व्यक्तिहरूले स्वघोषणामार्फत अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछन्।
सन्तानलाई थर र ठेगाना रोज्ने छुट
नयाँ कानुनी प्रावधानअनुसार, वंशज नागरिकता लिने सन्तानले आमा वा बाबु मध्येको थर र ठेगाना रोज्न सक्नेछन्। दफा ८(क) मा उल्लेख छ — “आमा वा बाबु मध्येको रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता प्रदान गर्न सकिनेछ।” यो व्यवस्था सर्वोच्च अदालतको अघिल्लो नजिर अनुरूप भए पनि व्यवहारमा लागू हुन सकेको थिएन। नयाँ संशोधनसँगै अब यस्तो प्रावधान कानुनमै समावेश भएपछि नागरिकता लिन प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको छ।





