सिरहा असोज ६ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड भएपछि ठप्प बनेको इलाका प्रशासन कार्यालय लहानको सेवा क्रमशः सञ्चालनमा आउन थालेको छ। कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा पुनः सुरु गरेको हो।
कार्यालय प्रमुख वेदनिधि खनालका अनुसार, प्रदर्शनकारीहरूले लुटेर लगेको क्यामेरा फिर्ता भएपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सञ्चालन गर्न सम्भव भएको हो। तर, राहदानी सेवा भने अझै पूर्ण रूपमा अवरुद्ध नै छ।
राहदानी सेवा अझै ठप्प
प्रदर्शनको क्रममा राहदानी विभागको स्क्यानर मेसिन र क्यामेरा फुटाइएकाले सेवा पुनः सञ्चालन गर्न वैकल्पिक व्यवस्था नभएसम्म राहदानी वितरण प्रक्रिया सुरु नहुने खनालले जानकारी दिए। उनका अनुसार, “केही दिनभित्रै काठमाडौँबाट नयाँ उपकरण आउँदैछ, त्यसपछि राहदानी सेवा पनि सञ्चालनमा ल्याइनेछ।” यसअघि कार्यालयले असोज १ गतेदेखि नागरिकता वितरण सेवा सुरु गरिसकेको छ।
१५ लाख रुपैयाँ बराबरको क्षति
प्रमुख खनालका अनुसार आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुन नदिए पनि व्यापक तोडफोडका कारण करिब १५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। हाल सेवा पुनः सञ्चालनका लागि कार्यालय मर्मत–सम्भारको काम पनि सँगसँगै अघि बढाइरहेको छ।






