“आजदेखि बडादसैँ सुरु, घरघरमा घटस्थापना गरी देवी पूजा आरम्भ”

काठमाडौँ असोज ६ । नेपाली हिन्दू समुदायको सबैभन्दा ठूलो चाड बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो पर्व पूर्णिमासम्म १५ दिनसम्म श्रद्धा र उत्साहका साथ मनाइने गरिन्छ।

दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ, जहाँ घरघरमा वैदिक विधिअनुसार देवी दुर्गाको पूजाआराधना गरिन्छ। बिहानै नित्यकर्म सकेपछि नदी, पोखरी वा चोखो स्थलबाट ल्याइएको माटो वा बालुवामा गाईको गोबर मिसाई पूजा कोठा वा दसैँ घर लिपपोत गरिन्छ। त्यसपछि त्यहीँ स्थानमा जौ यव रोपिने चलन छ, जसलाई जमरा राख्ने भनिन्छ। जौका अङ्कुर देवी दुर्गालाई अति प्रिय मानिन्छ। त्यसैले घटस्थापनाका दिन रोपिएको जमरा विजयादशमीको दिन टीकासँगै चढाइन्छ र ग्रहण गरिन्छ। जमरालाई समृद्धिको प्रतीकका रूपमा लिइन्छ।

धर्मशास्त्रअनुसार जमरामा जौ बाहेक अन्य अन्न रोप्ने विधि छैन। यद्यपि, केही परिवारमा परम्पराअनुसार मकै, गहुँजस्ता अन्य अन्न समेत जमरासँगै राख्ने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा।डा। देवमणि भट्टराईका अनुसार जमरा केवल जौमै सीमित हुनुपर्छ। जमरालाई धार्मिक प्रयोजनसँगै आयुर्वेदिक औषधिका रूपमा समेत उपयोग गरिँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर