सिरहा असोज ४ । सिरहाको लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर एक शिक्षकको ज्यान गएको छ।
लहान–१९ स्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक बीजेन्द्रकुमार सहनी आज बिहान खेतमा सिँचाइका लागि विद्युतीय मोटर सञ्चालन गर्दै गर्दा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। घटनापछि स्थानीय र आफन्तहरूले सहनीलाई तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले करेन्ट लागेर गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको पुष्टि गरे। स्थानीयहरूका अनुसार सहनी पेशाले शिक्षक मात्र नभई एक जिम्मेवार समाजसेवीका रूपमा पनि चिनिन्थे। उनको असामयिक निधनले गाउँमा शोकको वातावरण छाएको छ।






