जनकपुरधाम असोज ४ । केही समयदेखि स्थगित रहेको मधेस प्रदेशसभाको बैठक असोज ७ गते दिउँसो १ बजे बस्ने भएको छ। शनिबार सभामुख रामचन्द्र मण्डलले आज बसेको सर्वदलीय बैठकको निर्णयअनुसार बैठकको मिति तय भएको जानकारी दिए।
सभामुखका अनुसार जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीले प्रदेशसभा भवनको संरचना ध्वस्त भए पनि, प्रयोगयोग्य भागलाई अस्थायी रूपमा प्रयोग गर्दै सभा सञ्चालन गरिनेछ। साथै, जलेका संरचनाको पुनर्निर्माणका लागि प्रदेश सरकारसँग औपचारिक अनुरोध गर्ने निर्णय पनि सर्वदलीय बैठकमा गरिएको छ।
प्रदेशसभा लामो समयदेखि विपक्षी दलहरूको असहयोगका कारण चल्न सकेको थिएन। पछिल्लो समय जेन–जी आन्दोलनले भौतिक क्षति मात्र होइन, राजनीतिक प्रक्रियामा पनि अनिश्चितता निम्त्याएको थियो। यद्यपि, मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने अडान लिँदै आएको कारण दलहरू बैठकमा सहमत भएका हुन्। राजनीतिक दवाव र संविधानअनुसार प्रक्रिया अघि बढाउनुपर्ने बाध्यताले असोज ७ गते बैठक बोलाइएको जनाइएको छ।





