पर्सा असोज ४ । पर्सा जिल्लाका अधिकांश पालिकाहरूले चालु आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्। १४ वटा स्थानीय तहमध्ये नौ पालिकाले आवश्यक कानुनी प्रक्रिया पूरा नगरेकाले हालसम्म खाता सञ्चालनमा ल्याउन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले जानकारी दिएको छ। कोष नियन्त्रक मनोजकुमार जोशीका अनुसार खाता सञ्चालन नहुँदा ती पालिकाहरूमा कर्मचारीको तलब–भत्ता, दैनिक प्रशासनिक खर्च र विकास निर्माणका कामहरू ठप्प भएका छन्।
किन रोकिएको छ खाता सञ्चालन?
जोशीका अनुसार, चालु आवको नीति, कार्यक्रम र बजेट गाउँ वा नगरसभाबाट पारित गरी कार्यालयमा बुझाउनु पर्ने हुन्छ। साथै, प्रमुख प्रशासकीय अधिकृत सीएओ लाई आवश्यक अख्तियारी दिनुपर्ने कानुनी व्यवस्था भए पनि, धेरै पालिकाले यो प्रक्रिया पुरा गरेका छैनन्। स्रोत साधनको लिपिबद्धता, कानुनी प्रक्रिया र अख्तियारी हस्तान्तरण नहुँदा खाता सञ्चालन असम्भव हुन्छ, उनले बताए।
खाता नखुल्ने पालिकाहरू;
विन्दवासिनी गाउँपालिका
कालिकामाई गाउँपालिका
जगरनाथपुर गाउँपालिका
जिराभवानी गाउँपालिका
धोविनी गाउँपालिका
ठोरी गाउँपालिका
पकहाँ मैनपुर गाउँपालिका
सखुवाप्रसौनी गाउँपालिका
बहुदरमाई नगरपालिका
खाता सञ्चालनमा आइसकेका पालिकाहरू;
वीरगञ्ज महानगरपालिका
पर्सागढी नगरपालिका
पोखरिया नगरपालिका
छिपहरमाई गाउँपालिका
पर्टेवासुगौली गाउँपालिका
हालसम्म खाता सञ्चालनमा आइसकेका पालिकाहरूले नियमित प्रशासनिक र विकास कार्य अघि बढाइरहेका छन् भने बाँकी पालिकाहरूमा सेवा प्रवाहमा ठुलो प्रभाव परेको छ।





