जनकपुरधाममा संघीय लोकतान्त्रिक मोर्चाद्वारा कालो दिवसको कार्यक्रम

जनकपुरधाम असोज ३ । देशभर संविधान दिवस मनाइरहेका बेला मधेश केन्द्रित दलहरूको गठबन्धन संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा संविधानको विरोधस्वरूप कालो दिवस मनाएको छ।

मोर्‌चामा आवद्ध ६ मधेशवादी दलका कार्यकर्ताहरूले जनक चोकमा कालो पट्टी बाँधी विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागीहरूले ‘असोज ३ – कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावाद’ जस्ता नारा लगाउँदै संविधानमा मधेशी, थारु, आदिवासी जनजाति, र अन्य उत्पीडित समुदायको अधिकार सुनिश्चित नभएको गुनासो पोखेका थिए।जनता समाजवादी पार्टी नेपालका जनकपुर नगर अध्यक्ष विष्णुदेव साहका अनुसार, २०६२ र ६३ को जनआन्दोलनपछि बनाइएको संविधानले मधेशको बलिदानलाई बेवास्ता गर्दै आएको छ। उनले भने, “संविधानमा अधिकार समेटिएको छैन, गोली हानेर संविधान जारी गरियो। हामीसँग त्यो संविधान स्वीकार्य छैन।”

उनले केही मधेशवादी दलहरू आंशिक रूपमा संविधानको समर्थनमा देखिए पनि पूर्ण अधिकार सुनिश्चित नभएसम्म संघीय मोर्चाले संविधान दिवसलाई कालो दिवसका रूपमा मनाइरहने स्पष्ट पारे। मोर्चाले संविधान संशोधन वा पुनर्लेखनमार्फत उत्पीडित समुदायहरूको माग सम्बोधन गर्न सरकारसमक्ष पुनः आह्वानसमेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर