काठमाडौँ असोज ३ । जेनजी आन्दोलनको क्रममा देशभरि फैलिएर भएको हिंसात्मक प्रदर्शनमा करिब १,१०० थान प्रहरी हतियार लुटिएको पुष्टि भएको छ। भदौ २४ मा आन्दोलन उग्र बन्दा देशका विभिन्न स्थानबाट प्रहरी र सशस्त्र प्रहरीका युनिटहरूबाट हतियार लुटपाट, आगजनी र तोडफोड भएका थिए।
प्रहरी प्रधान कार्यालयले लुटिएका हतियारहरूको यकिन विवरण संकलन गर्न डीआईजी दीपक रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ। समितिले काठमाडौँ उपत्यकादेखि बाहिरसम्मका युनिटहरूमा पुगेको क्षतिको विवरण लिइरहेको छ। प्राप्त विवरणअनुसार, लुटिएका हतियारमा एसएलआर, पेस्तोल, ग्याँस गन, थ्रीनटथ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टीटु म्याग्नमजस्ता संवेदनशील हतियारहरू छन्। प्रहरीका अनुसार, काठमाडौँका विभिन्न वृत्त र परिसरहरूबाट ठूलो संख्यामा हतियार लुटिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी युनिट इन्चार्जहरूलाई सम्बोधन गर्दै ११ सय थान हतियार हराएको रिपोर्ट गरेका हुन्। यता, प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, हराएका हतियारमध्ये १६० थान फेला परेका छन्। तीमध्ये केही आगजनीमा जलेको अवस्थामा भेटिएका छन् भने केही सेनाले फेला पारेर बुझाएको हो। सैनिक जनसम्पर्क निर्देशनालयले देशभरबाट हालसम्म २६८ नाल हतियार बरामद गरिएको जनाएको छ। सशस्त्र प्रहरीको हतियार पनि प्रदर्शनकारीको निशानामा परेको छ। मिनभवनस्थित यातायात व्यवस्था विभाग परिसरमा रहेको सशस्त्रको बेसबाट करिब २० थान एसएलआर र सटगन लुटिएको छ। तीमध्ये एक एसएलआर भक्तपुरको ब्रम्हायणीमा बेवारिसे अवस्थामा भेटिएको हो।
त्यस्तै, झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सुरक्षामा खटिएको सशस्त्रको बेसबाट पनि केही हतियार लुटिएको जनाइएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार काठमाडौँ र झापाबाट करिब ४० थान हतियार लुटिएको र तीमध्ये १५–२० थान फेला परिसकेको छ। सशस्त्र प्रहरीको ५० भन्दा बढी सवारीसाधनमा आगजनी भएको पुष्टि गरिएको छ। नयाँ बानेश्वर, सिंहदरबार, रानीपोखरी, भैंसेपाटी लगायतका स्थानमा रहेका सशस्त्रका सवारीहरूलाई लक्षित गरेर आगजनी गरिएको थियो।






