काठमाडौँ असोज ३ । सिंहदरबारको पुतली बगैंचामा निर्माण भइरहेको संघीय संसद भवनको काम आउँदो पुसभित्रै पूरा गरिने भएको छ। अहिलेसम्म भवन निर्माणको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ भने बाँकी काम पुसभित्रै सक्न सरकारले विशेष तीव्रता दिन निर्देशन दिएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार सहरी विकास सचिव, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गर्दै आगामी फागुन २१ मा हुने आमनिर्वाचनपछि प्रतिनिधिसभाको बैठक नयाँ संसद भवनबाट नै सुरु गर्न निर्देशन दिएका हुन्। नेपालमा २०६४ सालपछि नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद भवनको रूपमा प्रयोग गरिदै आएको थियो। तर पछिल्लो आन्दोलनमा उक्त भवनमा ठूलो क्षति पुगेपछि संसद भवन अभावमा परेको थियो। मन्त्री घिसिङले भने, “संसद भवन निर्माण संवेदनशील आयोजना भएकाले कुनै बहानामा ढिला गर्नु हुँदैन। सबै पक्षले गम्भीर भएर कामलाई समय अगावै सक्नुपर्छ।”
सिंहदरबारस्थित १७३ रोपनी क्षेत्रमा फैलिएको यस भवनको निर्माणमा करिब ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी भएको छ। भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, संसदीय समिति र संसदीय दलका कार्यालयहरू समावेश हुनेछन्। ठेक्का सम्झौता तुँदी सेक ज्वाइन्ट भेन्चरले २०७६ असोजमा तीन वर्षमा निर्माण सक्ने गरी गरेको थियो। पाँचौंपटक थपिएको सम्झौता पुसमा सकिँदै छ।





