काठमाडौ असोज ३ । नेकपा एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा हाल देशमा संविधानमाथि गम्भीर र सुनियोजित आक्रमण भइरहेको गम्भीर आरोप लगाएका छन्।
संविधान दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै ओलीले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका हुन्। उनले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि संविधानसभामार्फत निर्माण गरेको संविधान लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता र नागरिक अधिकार सुनिश्चित गर्ने ऐतिहासिक दस्तावेज भएको स्मरण गराए। ओलीले संविधान निर्माणका क्रममा झेलेको भारतीय नाकाबन्दी र अन्तर्राष्ट्रिय दबाबसमेत जनताको एकताले परास्त गरिएको उल्लेख गर्दै भने, “नेपालको संविधान नेपाली जनताले आफैंले आफ्ना लागि लेखेको भविष्य रेखा हो।” उनका अनुसार संविधान जारी भएपछि देश विकास र पूर्वाधार निर्माणको बाटोमा अघि बढेको छ। चीनसँग पारवहन सम्झौता, उत्तर–दक्षिण यातायात पूर्वाधार, र आर्थिक सुधारको प्रयासहरूले देशलाई भूजडित बनाउने दीर्घकालीन योजनाको जग बसाएको दाबी गरे।
जेन–जी आन्दोलनप्रति गम्भीर आपत्ति
हालैको जेन–जी आन्दोलनमा भएको हिंसात्मक घटनालाई ओलीले गम्भीर षड्यन्त्रको उपज भन्दै विरोध जनाएका छन्। “शान्तिपूर्ण भनिएको आन्दोलनमा षड्यन्त्रकारी घुसपैठ भयो, जसले हिंसा मच्चायो र युवाहरूको ज्यान गयो,” उनले भने। प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोगमा आएको दाबी गर्दै ओलीले गहिरो छानबिनको मागसमेत गरे। प्रधानमन्त्री पदबाट आफ्नो राजीनामापछि सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, राजनीतिक दलका कार्यालय र नेताहरूको निजी सम्पत्तिमाथि आक्रमण भएको घटनालाई ओलीले देशको सार्वभौमसत्ता र संविधानमाथिको प्रहार को रूपमा व्याख्या गरे।
भावनामा बगेर पछुतो नहुनेू चेतावनी
संविधानमाथि काल्पनिक असन्तुष्टि फैलाएर युवालाई भड्काउने प्रयास भइरहेको उल्लेख गर्दै ओलीले इतिहासबाट सिक्न आग्रह गरे। काजी भीम मल्लको उदाहरण दिँदै उनले भने, “देश बनिरहेको बेला भावनामा बगेर गरिएको निर्णयले पछुतो बाहेक केही बाँकी राख्दैन।” अन्त्यमा उनले सबै नेपालीलाई संविधानको रक्षाका लागि एकजुट हुन आह्वान गरे। “संविधान हाम्रो स्वतन्त्रताको कवच हो, सार्वभौमसत्ता हाम्रो अस्तित्व। संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं,” ओलीको अपील थियो।






