काठमाडौँ असोज ३ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन कुनै हालतमा आगामी पुस महिनाभित्र सम्पन्न गर्नुपर्ने स्पष्ट निर्देशन दिएका छन्।
शुक्रबार सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालयका प्रतिनिधि, परामर्शदाता र निर्माण व्यवसायीसँगको बैठकमा मन्त्री घिसिङले बाँकी कामहरू छिटो छरितो रूपमा अगाडि बढाउन निर्देशन दिएका हुन्। जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पुर्याइएपछि अहिले संसद बैठक बस्ने भवन नै छैन, मन्त्री घिसिङले भने, त्यसैले यो निर्माणकार्य संवेदनशील आयोजना हो। अब कुनै पनि बहानामा ढिलाइ सह्य हुँदैन। सबै पक्ष गम्भीर भएर पूर्ण रूपमा परिचालित भई पुसभन्दा अगावै काम सम्पन्न गर्नुपर्छ।
संघीय संसद भवनको निर्माण सन् २०७६ को असोजमा सुरु भएको हो। सुरुमा तीन वर्षमा सक्ने लक्ष्य राखिए पनि निर्माण म्याद पाँचौं पटक थपिएको छ, जुन आगामी पुसमा समाप्त हुँदैछ। आयोजनाका अनुसार हालसम्म भौतिक प्रगति करिब ८६ प्रतिशत पुगेको छ। बाँकी रहेका कामहरूमा राष्ट्रिय सभा र प्रतिनिधि सभा हलमा फल्स सिलिङका लागि थप ट्रस निर्माण, मल्टिपर्पोज हलमा सिलिङ ट्रस, मुख्य र सहायक विद्युत् प्यानल जडान, सम्पूर्ण स्यानिटरी फिटिङ, फायर फाइटिङ सिस्टम, ज्ख्ब्ऋ परीक्षण तथा अन्य उपकरणको सञ्चालन र समायोजनका कार्यहरू समावेश छन्।





