काठमाडौँ असोज २ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अब नेपाली सेनाको औपचारिक सुरक्षा घेराबाट बाहिरिएका छन्। भदौ २४ मा ‘जेनजी आन्दोलन’ हिंसात्मक बनिरहँदा प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीले त्यसपछि लामो समय सेनाको निगरानीमा शिवपुरी क्षेत्रमा समय बिताएका थिए।
बालुवाटार छाडेपछि उनी तत्काल सेनाको सुरक्षा सर्कलभित्र राखिएका थिए। आन्दोलनकारीहरूले बालकोटस्थित उनको निजी निवासमा आगजनी गरेपछि, ओलीको सुरक्षामा उच्च सतर्कता अपनाइएको थियो। तर पछिल्लो समय उनी राजधानीको उत्तरतर्फ पर्ने गुन्डु क्षेत्रमा सरेका छन्। सुरक्षा स्रोतका अनुसार अब उनी सेनाको औपचारिक सुरक्षा बाहिर बसिरहेका छन्। यद्यपि, यस विषयमा नेकपा एमालेले औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि, अन्य पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सेनाको सुरक्षा छाडिसकेका थिए।
त्यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अझै पनि सुरक्षा घेराभित्रै छन्। आन्दोलनका क्रममा उनीमाथि शारीरिक आक्रमण भएपछि अहिले पनि उनको उपचार भइरहेको छ।





