दुबई असोज २ । दुबईले नेपाली नागरिकलाई भिजिट भ्रमण भिसा दिन पूर्ण रूपमा रोक लगाएको छ। कुनै आधिकारिक सूचना जारी नगरे पनि सोमबारदेखि दुबईले नेपालीहरूको भिजिट भिसा आवेदन स्वीकृत गर्न बन्द गरेको शुभयात्रा ट्राभल्स एन्ड टुर्सका सञ्चालक प्रदिप अधिकारीले जानकारी दिएका छन्।
अधिकारीका अनुसार, युएईको भिसा आवेदन फारममा भिजिट भिसा कोलममा अब ‘नेपाल’ देखाउने विकल्प नै हटाइएको छ। ‘आइतबारसम्म नेपालका लागि भिसा कोलम उपलब्ध थियो, तर सोमबारदेखि आवेदन दिएका सबै नेपालीको भिसा अस्वीकृत भएको छ। भारतीयहरूका भिसा भने जारी भएका छन्,’ उनले भने। नेपालका लागि युएईका राजदूत तेजबहादुर क्षेत्रीले भने यो निर्णयबारे कुनै औपचारिक जानकारी नआएको उल्लेख गर्दै ‘यो स्थिति केही समयका लागि मात्रै हुन सक्ने’ बताउनुभयो। दिसेम्बरदेखि नै दुबईले नेपालीलाई भिसा दिनमा अवरोध गर्दै आएको र नेपालीहरूले वैकल्पिक रूपमा युएईका अन्य राज्यहरू, जस्तै शारजाहका लागि भिसा आवेदन दिने गरेका थिए। तर अब सम्पूर्ण युएईका लागि भिसा आवेदन प्रक्रियामा पनि रोक लागेको शुभयात्रा ट्राभल्सका सञ्चालक अधिकारीले जानकारी गराएका छन्।





