जनकपुरधाम असोज २ । राष्ट्रिय मुक्ति पार्टी नेपालले संविधान दिवसका रूपमा मनाइने असोज ३ गतेलाई ‘कालो दिवस’ को रूपमा मनाउने निर्णय गरेको छ। पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले उक्त निर्णय गरेको अध्यक्ष राजेन्द्र महतोले जनाएका छन्।
अध्यक्ष महतोले आज पार्टीका सम्पूर्ण जिल्ला अध्यक्ष तथा कार्यसमितिलाई सर्कुलर पठाउँदै संविधान दिवसको दिन आफूप्रति भएको अन्याय र अधिकारमाथिको प्रहार सम्झनु आवश्यक रहेको उल्लेख गरेका छन्। उनका अनुसार असोज ३ गते, मधेसका आन्दोलन, अधिकार र लोकतन्त्रको मूल्यवोधमाथि गम्भीर चोट लागेको दिनका रूपमा रहेको छ। सर्कुलरमा कार्यकर्ताहरुलाई विरोधस्वरूप कालोपट्टी बाँधेर काम गर्न निर्देशन दिइएको छ। साथै उक्त दिन देशभरि विरोधसभा, विचार गोष्ठी, सहिदप्रति श्रद्धाञ्जलीजस्ता कार्यक्रमहरू आयोजना गर्न पार्टीका सम्पूर्ण इकाइहरूलाई आग्रह गरिएको छ। स्थानीय तहमा युवा र विद्यार्थीहरूलाई समेत समावेश गर्दै कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।
२०७२ सालको असोज ३ गते संविधान जारी भएपछि मधेसवादी दलहरूले त्यसप्रति गहिरो असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका थिए। त्यसयता संविधान संशोधनको माग गर्दै उनीहरूको संघर्ष जारी छ। तर हालसम्म संविधानमा मागअनुसारको संशोधन गरिएको छैन।






