धनुषा जोगियाराबाट ४७५ किलो गाँजा सहित दुईजना पक्राउ

जनकपुरधाम असोज १ । धनुषाको विदेह नगरपालिका ३, जोगियाराबाट मंगलबार बिहान प्रहरीले ४ सय ७५ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका १ का २४ वर्षीय बिराज गुम्बा र बाँकेको कोहलपुर पार्वतीपुरका १८ वर्षीय एक किशोर छन्। इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको टोलीले गणेशमान चारनाथ नगरपालिका ४, वीरेन्द्रबजार नजिकैको सडकमा रोकिएको पिकअप गाडी प्र।३९०१९०२४ च ८३२५ बाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले धरानबाट उक्त गाडीमा गाँजा ल्याउने सूचनाको आधारमा उनीहरूको पछि लागेको थियो।

प्रारम्भिक अनुसन्धानले उनीहरूले गाँजा विदेह नगरपालिका३, जोगियारास्थित एक इँटा भट्टामा राखेको पत्ता लागेपछि त्यहाँबाट १९ वटा पोका गाँजा बरामद गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ