काठमाडौ असोज १ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकोले देशभरि मौसम बदली हुने क्रम जारी छ। अरब सागर र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभावले गर्दा वर्षाको सम्भावना अझै बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, बुधबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने बागमती र लुम्बिनी प्रदेशका साथै देशका अन्य पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। आज रातिको मौसम पनि बदलीकै प्रभावमा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। यी क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले पहाडी क्षेत्रका नदी नाला तथा भू–स्खलनको जोखिम रहन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।





