मूल नेतृत्वमा परिवर्तन आवश्यक : जनार्दन शर्माको प्रचण्डलाई राजीनामा आग्रह

काठमाडौँ भदौ ३१ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको मूल नेतृत्वबाट प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। मंगलबार सार्वजनिक गरिएको १६ बुँदे विश्लेषणात्मक दस्तावेजमार्फत शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका हुन्।

उक्त दस्तावेजमा शर्माले जेनजी आन्दोलनलाई समग्र मुलुकको भ्रष्ट राजनीतिक प्रणाली र संस्कृतिमाथिको प्रहारको रूपमा व्याख्या गर्दै पार्टीभित्र व्यापक सुधार आवश्यक रहेको धारणा राखेका छन्। उनले विगत एक वर्षदेखि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्निर्माणको माग गर्दै आए पनि त्यसप्रति बेवास्ता भएको आरोप लगाए।

१६ बुँदे प्रस्तावमा के छ?

१। जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, संस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्छ ।

२। यसले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढङ्गले अगाडि बढाउने बाटो खोलेको छ ।

३। वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ ।

४। पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्छ ।

५। २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानबिन र जेनजी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्छ ।

६। पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।

७। नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्छ ।

८। कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ ।

९। वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्छ ।

१०। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रूपमा उठाउनुपर्छ ।

११। पार्टी भित्रका दलित महिलाका समस्याहरू समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ ।

१२। सांस्कृतिक विचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्नुपर्छ ।

१३। शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरूको संरक्षण सम्बन्धी नीति तय गर्नुपर्छ ।

१४। श्रम र आर्थिक उत्पादन सम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रम मार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्नुपर्छ ।

१५। राष्ट्रियता गम्भीर सङ्कटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ ।

१६। उपर्युक्त लक्ष्य पुरा गर्न सो अनुसारको सङ्गठन बनाउनुपर्छ ।

पार्टीभित्र शुद्धीकरणको सन्देश

जनार्दन शर्माको दस्तावेजले माओवादी केन्द्रभित्र आन्तरिक असन्तोष र नेतृत्वप्रतिको असहमति स्पष्ट रूपमा उजागर गरेको छ। विशेषतः ‘प्रचण्ड युग’ समाप्त गर्ने आह्वानसहितको यस्तो प्रतिवेदनले पार्टीभित्र ठूलो बहस सिर्जना गर्ने देखिन्छ।अब हेर्न बाँकी छ—शर्माको आवाज पार्टीभित्रको अभियान बन्छ कि बहिष्कारर?

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ